प्रधानमन्त्रीमा ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाण्डु टुडे २०८१ साउन ६ गते १५:३८ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवादको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

आज (आइतबार) न्यायाधीश बालकृष्ण ढकालको इजलासले यो रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन ।

गत २८ असारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

सोही अनुसार कांग्रेस–एमालेसहितको दलको समर्थनमा एमाले संसदीय दलका नेता ओली प्रधानमन्त्री नियुक्त भएका थिए । कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेल, दीपक अधिकारी र विजय हमालले धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि अर्को सरकार धारा ७६ (३) बमोजिम गठन हुनुपर्नेमा राष्ट्रपतिले धारा ७६ (२) बमोजिम गठन गरेको भन्दै सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन ।

उनीहरुले राष्ट्रपतिको कार्यालय र संघीय संसद सचिवालयलाई विपक्षी बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us