प्रधानमन्त्री ओलीको प्रश्नः कांग्रेस–एमालेले संविधान सिध्याउँछन् भने कसले बचाउँछ ?

काठमाण्डु टुडे २०८१ साउन ६ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाएरै संविधान संशोधन गर्ने बताएका छन । तर आफूले भने अनुसार नहुनासाथ पश्चगमनको पोशाक लगाइदिने अचम्मको प्रवृत्ति देखिएको उनले बताएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत दिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले संविधान असंशोधनीय विषय नभएको बताएका हुन ।

उनले भने, ‘संविधान देश र जनताको हितका लागि साधन हो, साध्य होइन’ उनले भने, ‘आवश्यकताले संविधान, कानुनमा संशोधन र परिमार्जन हुन्छ ।’ तर उनले संविधान संशोधन गर्नु भनेको पश्चगमन हो भन्ने कतिपयको भनाइ पनि आफूले सुनेको बताएका छन ।

पञ्चायतकालमा जनमत संग्रहका बेला बच्चाबच्ची रोयो भने एए नबोल नबोल जनमत संग्रह भाँडिन्छ भन्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो जनमत संग्रह भाँडिन्छ भन्नेजस्तो कुरा नगरे पनि हुन्छ ।’

कांग्रेस र एमालेले नै हिंसालाई शान्ति र तानाशाहीलाई फ्याँकेर लोकतन्त्र ल्याएको भन्दै उनले भने, ‘जसले सबै कामको लिड गर्‍यो, तिनीहरुले संविधान सिध्याउँछ भने कसले बचाउँछ ?’

तर आफूले भनेको नभए पश्चगमनको पोशाक लगाइदिने अचम्मको प्रवृत्ति देखिएको उनको गुनासो छ । विकासको तगारो अस्थिता भएको भन्दै उनले भने, ‘अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us