काठमाण्डु, ६ साउन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको एमालेका एक नेताले जानकारी दिएका छन ।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।
यसअघि कांग्रेस र एमालेबीच मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेको थिएन । महराले राजीनामा दिएपछि प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनका लागि आह्वान गरेमा गिरीले आज नै मुख्यमन्त्रीमा दावी पेश गर्ने एमाले प्रमुख सचेतक चौधरीले जानकारी दिएका छन ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।