संसदमा कडा रुपमा प्रस्तुत भयो रास्वपा

काठमाण्डु टुडे २०८१ साउन ६ गते १३:५३ मा प्रकाशित

काठमाण्डु, ६ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरलाई कांग्रेस सांसद रामहरि खतिवडाले मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिएकी छन ।

आज (आइतबार)को प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद खतिवडाले उपसभामुख रानाको लेटर प्याड प्रयोग गरेर असम्बन्धित मानिसहरूलाई अमेरिका लैजान पत्र लेखेको भन्दै त्यसको छानबिन गर्न माग गरेका थिए ।

सांसद खतिवडा पछि बोलेकी रास्वपा सांसद श्रेष्ठले उपसभामुख राना माथि आरोप लगाएर मिडिया ट्रायल गरेकोमा आपत्ति जनाउँदै सबै सांसदको लेटर प्याडबाट के–के भएको छ सबैको छानबिन गर्नुपर्ने बताएकी छन । उनले भनिन्, ‘मानव तस्करजस्तो गम्भीर आरोप तपाईँले आनन्दले डिक्लियर गर्नुभयो ।

ल डिक्लियर गरौ न त भुटानी शरणार्थीको क्लियर गरौँ कसले गरेको हो भनेर त्यो आँट छ ? ‘एउटा महिला जो अप्ठेरो अवस्थाबाट यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुस् ।’

उनले विधि पद्धति बनाउने कुरामा छानबिन गर्न पार्टी तयार रहेको भन्दै मिडिया ट्रायल गरेर किन चरित्र हत्या गरेको भनेर प्रश्न गरिन् । साथै उनले संवैधानिक परिषदमा अल्पमतमा परियो भनेर उपसभामुखको चरित्र हत्या गरिएको भन्दै सबैलाई विधि पद्धति बनाउन आग्रह गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us