निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले बिपीलाई जेल हाले: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन ६ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, ६ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको दाबी गरेका छन । बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पुर्‍याउँछु भनेकैले बिपीलाई जेलमा हालिएको बताएका छन । उनले भने, ‘झूटा आरोप र मुद्दाका आधारमा बिपीलाई जेल हालियो, कांग्रेसले गद्दीमा ल्याएर राखेका राजाले बिपीलाई बिनाकारण जेल हाले, बिपीले सत्यको मार्ग हिँडेर जीवनभर मूल्य चुकाउनुभयो, सत्य बोल्ने र सही काम गर्ने हो भने मूल्य चुकाउनुपर्छ भन्ने मानसिकताले उहाँ अघि बढ्नुभएको थियो ।’

जनताले लगाएको कपडाका साथै जनताको अवस्था देखाउँदा बिपीका बाबु कृष्णप्रसाद र आमा दिव्या कोइरालालाई पनि राणा शासकले सर्वस्व हरण गरी निर्वासनमा पठाएको प्रधानमन्त्री ओलीले बताएका छन । बिपीले भिन्न विचार राख्न पाउने स्वतन्त्रताका लागि सङ्घर्ष गरेको उनले बताएका छन ।

बिपीले विसं २०३५ मा बिबिसीलाई दिएको अन्तर्वार्तामा तर्कसहित स्पष्ट रुपमा राष्ट्रिय एकताको सवाल उठाएको प्रधानमन्त्री ओलीले बताए । अहिलेको पुस्तालाई कथाजस्तो लाग्ने बिपीको जीवनकथा पढ्न रोमाञ्चक भए पनि भोग्न सहज नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । सो अवसरमा प्रधानमन्त्री ओलीले वि.सं २०८० को बिपी कोइराला राष्ट्रिय पुरस्कारबाट राजनीतिक दर्शन विधातर्फ किशोरकुमार अधिकारी र होमनाथ दाहाललाई पुरस्कृत गरे । संयुक्त रुपमा प्रदान गरिएको पुरस्कारको राशी दुई लाख रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला छ ।

यसैगरी, साहित्यिक विधातर्फको बिपी कोइराला राष्ट्रिय पुरस्कार प्रा।डा। योगेन्द्रप्रसाद यादव र प्रा.डा.हरिप्रसाद शर्मा पराजुलीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । पुरस्कारको राशी दुई लाख नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । मन्त्रालयले विसं २०७८ देखि यो पुरस्कार प्रदान गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us