लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

काठमाण्डु टुडे २०८१ साउन ५ गते १७:४६ मा प्रकाशित

काठमाण्डु, ५ साउन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन । प्रदेश सभाको चौथो अधिवेशनको २४ औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची सार्वजनिक भएको हो ।

बैठक भोलि १ बजेलाई बोलाइएको छ। लुम्बिनी प्रदेश सभाले २४ औँ बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री दिने सम्भावित कार्यसूची रहेको रहेको छ ।

प्रदेश सचिव दुर्लभकुमार पुनले मुख्यमन्त्रीले विश्वास मत लिने सम्भावित कार्यसूची प्रदेश सभामा सदस्यहरूलाई पठाएको जानकारी दिएका छन । केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने हुन्छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिले मुख्यमन्त्री महरासँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एकरएक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us