बाबुरामलाई विश्वप्रकाशको प्रश्न: सत्यको एक्सपाइरी डेट हुन्छ कि हुँदैन ?

काठमाण्डु टुडे २०८१ साउन ५ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, ५ साउन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सत्यको सापेक्षताको बारेमा प्रश्न गरेका छन् ।

डा. भट्टराईबारे लिखित पुस्तक विमोचन कार्यक्रममा धारणा राख्दै महामन्त्री शर्माले सत्य सापेक्षिक हुने बताएका छन । कांग्रेस महामन्त्री शर्माले भने, ‘पुस्तकमा उल्लेख भए अनुसार २०३५ सालमा डा. बाबुराम भट्टराईले नोटमा लेख्नुभयो, मेरो जीवन सत्य र न्यायका लागि समर्पण गर्न चाहन्छु ।

म डा. साबलाई सोध्न चाहन्छु, यो सत्यको एक्सपाइरी डेट हुन्छ कि हुँदैन ? किनभने सत्य सापेक्षिक हुन्छ ।’ जीवनको एक कालखण्डमा आफूलाई सत्य लागेको कुरा अरू कसैलाई सत्य नलाग्न पनि सक्ने उनले बताएका छन ।

अरू कसैले सत्य मानेर समाएको कुरा आफूलाई सत्य नलाग्न पनि सक्ने उनले बताएका छन । डा. भट्टराईले दुई कालखण्डमा सत्यको दुई भिन्न आयामलाई अभ्यास गरेको शर्माको जिकिर छ । ‘उहाँले नलजाईकन स्वीकार गर्नुपर्छ । डा। सबलाई कुनै काल खण्डमा लाग्थ्यो यो धरतीलाई सुन्दर बनाउने कुनै दर्शन छ भने त्यो कम्युनिस्ट दर्शन हो ।

जीवनको अर्को उचाइमा पुगेपछि त्योभन्दा भिन्न बाटोमा त्यसको सान्दर्भिकता घट्यो भन्नुभयो । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले पनि आफूलाई त्यो बाटोमा लानुभएको हो । उहाँहरूले जर्मन दार्शनिक गेटेलाई चाँडो पढ्नुभएछ कि क्या हो । गेटेले के भन्नुहुन्छ भने जीवनको रङ हरियो हुन्छ, सिद्धान्तको रङ खैरो हुन्छ ।

जब सिद्धान्त र जीवनको बिचमा द्वन्द्व पर्छ, जीवनले विजयी हासिल गर्छ र सिद्धान्त चाहिँ कुनामा बसेर रुनतर्फ लाग्छ । जीवन मुस्कुराउँदै अघि बढेर लाग्छ ।’

संविधान लेखनमा डा.भट्टराईले महत्त्वपूर्णभन्दा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै संविधान जारी गरेपछि भट्टराईले आफ्नो बाटो बदलेको जिकिर गरेका छन । उनले भने, ‘जब बाटो बदल्नु भयो, उहाँले जीवनको अर्को सत्य अँगाल्नुभयो । यसका लागि पनि साहस चाहिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us