काठमाण्डु, ५ साउन– गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन ।
हिजो शुक्रबार भर्चुअल माध्यमबाट प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई समेत सम्बोधन गर्दै गृहमन्त्रीले लेखकले यस्तो निर्देशन दिएका हुन ।
उनले मनसुनजन्य विपद्बाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गरेका छन । विपद् व्यवस्थापनका साथै जिल्लाको शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले सो अवसरमा निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले स्रोतले जानकारी दिएको छ ।
भर्चुअल बैठकमा गृह सचिव एकनारायण अर्यालले विपद्को सुरुवाती दिनमै यसपटक देशभर धेरै जनधनको क्षति भएको बताए । गृहसचिव अर्यालले बाढी पहिरोबाट पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि समन्वय गर्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन पनि दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले विपद्का क्रममा विभिन्न प्रभावित जिल्लाका एक हजार चार सय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिए । भर्चुअल बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारी सहभागी रहेका थिए ।