सरकार पूर्ण कार्यकाल टिक्छ: अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ साउन ५ गते ८:१४ मा प्रकाशित

काठमाण्डु, ४ साउन– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरेका छन । आज शनिबार नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा आज गएको नगरपालिका सङ्घका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन ।

उनले अहिलेको सरकार देश र जनताको लागि भएको भन्दै त्यही गतिमा काम गर्न नगर प्रमुखहरुलाई आग्रह गरेका छन । अर्थमन्त्री पौडेलले भने, ‘राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनुस्, ‘यो सरकार पूरै अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो भयो भने विकल्प खोज्न लागिँदैन, मिलेर काम गर्छौँ ।’

उनले नगरप्रमुखहरुलाई सङ्घीय गठबन्धनको गतिमा काम गर्न आग्रह पनि गरेका छन । उनले भने, ‘यो गठबन्धन तलमाथि हुन्न, अब विकल्प पनि छैन, तपाईहरु त्यही गतिमा काम गर्नुस् ।’ उनले वित्तीय समानीकरणको बाँकी रकम भुक्तानीका लागि पहल गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us