काठमाण्डु, ४ साउन– गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबिच भेटवार्ता भएको छ । आज शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा शुभकामना सहित भेटवार्ता भएको हो ।
भेटवार्ताको क्रममा राजदूत थम्पसनले अमेरिका नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधैं इच्छुक रहेको बताएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
एमसीसी परियोजनाले नेपालको विकास र समृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास रहेको भन्दै राजदूत थम्पसनले एमसीसी परियोजना कार्यान्वयनमा नेपाल सरकारबाट सहयोगको अपेक्षा रहेको बताएका छन ।
साथै अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिका सधैं तत्पर रहेको पनि उनले बताएका छन ।
जवाफमा गृहमन्त्री रमेश लेखकले नेपाल र अमेरिकाका बिच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम भएको बताउँदै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनलगायतका विषयमा दुवै देशको साझा धारणा रहेको उल्लेख गरेको स्रोतले जानकारी दिएको छ ।
नेपालको सामाजिक आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको क्षमता विकास अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा निरन्तरताको अपेक्षा रहेको उनको भनाइ थियो ।
साथै जलवायु परिवर्तनका असरका कारण नेपाल उच्च जोखिममा रहेको हुँदा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने नेपालको चासो र चिन्ताको विषयलाई अमेरिकाले समर्थन गर्ने अपेक्षा रहेको उनले बताएका छन ।