
काठमाण्डु, ३ साउन– भिसा दिन रिफारिस गर्दै अमेरिकी दूतावासमा पत्र लेखेको बाहिरिएपछि उपसभामुख इन्दिरा राना विवादमा नातिएकी छन् ।
रानाले आफूसहित ६ जना अमेरिका जान लागेको भन्दै अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाण्डुस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको छ ।
रानाले गत वर्षको १४ फागुनमा दूतावासलाई संघीय संसद सचिवालयको लेटरप्याडमा पत्र लेख्दै कार्यक्रमको समय नजिक आइसकेकाले आफूसँगै सांसद र सहयोगी समूहको अन्तर्वार्ताको समय सँगै पारिदिन भनेको खुलासा भएको छ ।
तर, दूतावासलाई शंका लागेर कार्यक्रमको विस्तृत विवरण मगाएको थियो । विवरण उपलब्ध गराउन नसकेपछि दूतावासले रानालाई मात्र भिसा दियो । उनी गत फागुनमा संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा सहभागी हुन अमेरिका गएकी थिइन् ।
रानाले पैसा लिएर ५ जनालाई अमेरिका लैजान खोजेको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक कोटाबाट प्रतिनिधिसभामा आएकी राना २०७९ माघ ७ मा उपसभामुख निर्वाचित भएकी थिइन् ।
त्यसबारे रास्वपा नेतृत्वलाई पनि जानकारी थियो । तर, अध्यागमनको रेकडर्म रानाबाहेक अरु अमेरिका नगएको जानकारी प्राप्त भएपछि यो विषय सेलाएको थियो । तर, बिहीबार पत्र बाहिरिएसँगै त्यसबारे रास्वपाभित्र छलफल सुरु भएको एक नेताले जानकारी दिए ।
यसैबीच रानाले एक वर्षपछि यो विषय किन उठाइयो भन्ने प्रश्न गरेकी छन् । ‘यो एक वर्ष पहिलाको कुरा थियो । किन अहिले आएर उठायो भन्नेमा म चकित परेकी छु’, उनले भनिन् ।
सभामुख देवराज घिमिरेले भने संसदको लेटरप्याड दुरुपयोग गरेर भएको उक्त काम गम्भीर भएको बताए । उक्त विषयलाई आफूले गम्भीर रुपमा लिएको भन्दै घिमिरेले सम्वद्ध पक्षहरुसँग छलफल गर्ने जानकारी दिए । श्रोतका अनुसार सभामुख घिमिरेले रानालाई पत्रबारे सोधपुछ गरिसकेका छन् ।