प्रधानमन्त्री ओलीले माओवादीसँग पनि विश्वासको मत माग्ने

काठमाण्डु टुडे २०८१ साउन ३ गते १८:११ मा प्रकाशित

काठमाण्डु, ३ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गरेका छन ।

आगामी ६ साउनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि संसद् सचिवालयमा बुधबार औपचारिक पत्र पठाएका ओलीले सबै दलसँग विश्वासको मत माग्ने तयारी भएको एमाले सांसद तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।

उनले पार्टी र नेताहरूलाई पत्र लेखेर मत माग्ने वा मौखिक रूपमा भेटेर भन्ने विषय छलफलकै क्रममा रहेपनि सार्वजनिक रूपमै अपिल गरिसकिएको पनि जानकारी दिएका छन ।

उनले माओवादी केन्द्रसहित प्रतिपक्ष दलहरूलाई पनि विश्वासको मतका लागि आग्रह गरिएको बताए । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भएकाले तेस्रो, चौथो र पाँचौँ दलले पनि सरकारलाई समर्थन गर्दा सकारात्मक सन्देश जाने भएकाले दलहरूले यसबारेमा सोच्नुपर्ने पनि बताएका छन ।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष समेत रहेका ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएर ३१ गते शपथ ग्रहण गरेका थिए । प्रधानमन्त्रीमा दाबी गर्दा कांग्रेस र एमालेका १६६ सांसदको समर्थन देखाएका ओलीलाई जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्तिले विश्वासको मत दिने बताउँदै आएका छन् ।

त्यस्तै राप्रपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि विश्वासको मत दिन सकारात्मक देखिएका छन् । यद्यपि राप्रपाले कुनै निर्णय भने गरिसकेको छैन । कांग्रेस, एमाले, जसपा, जनमत, जसपा नेपाल र लोसपाका सांसदहरूको सङ्ख्या १८७ पुग्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सांसदको आवश्यकता पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us