काठमाण्डु, ३ साउन– प्रहरीले ठुलो परिणाममा लागु औषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ गरेको छ । कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गर्न सफल भएको लागु औषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अनसारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुला रहेको ब्युरोका एक अधिकारीले जानकारी दिएका छन ।
नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका थिए । उनलाई काठमाण्डु–२६, ठमेल स्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । नसिमुद्दिनले उक्त लागु औषध कोकिनसहितका जुसका बट्टाहरू काठमाण्डु–९ पिङ्गलास्थान स्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबडोफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
ओबडोफुला साउन १ गते नै कतार एयरलाइन्सबाट नेपाल आएका थिए । उनलाई पनि नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागु औषध कोकिनका क्याप्सुलहरू कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर नेपाल ल्याएको बयान दिएका छन् । होटल पुगेपछि उनले कोकिनका क्याप्सुलहरू जुसको बट्टाहरूभित्र लुकाएको खुल्न आएको हो ।
बरामद गरिएको कोकिनको तौल १ केजी १०० ग्राम रहेको छ । बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८५ लाख हुन आउने प्रहरीले जानकारी दिएको छ ।