छान्न सकेन एमालेले पोलिट्ब्युरो र स्थायी समिति

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– एमाले केन्द्रीय कमिटी बैठक स्थायी समिति र पोलिट्ब्युरो चयनका साथै नेताहरुको कार्यविभाजन नगरी सकिएको छ ।
balkhuविवाद लम्बिएपछि केन्द्रीय समिति बैठक असोज १० गतेसम्म स्थगित भएको छ ।

विवाद समाधान गर्ने जिम्मा पदाधिकारीलाई दिंदै बैठक सकिएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । नयाँ केन्द्रीय सदस्यलाई पोलिट्ब्युरोमा लाने कि नलाने भन्नेमा एमालेमा विवाद छ ।

नेता माधवकुमार नेपाल पक्ष महाधिवेशनबाट पारित विधानअनुसार यसअघि एक कार्यकाल केन्द्रीय समितिमा नरहेकालाई पोलिट्ब्युरोमा लैजान नहुने पक्षमा छ । अध्यक्ष केपी शर्मा ओली पक्ष भने कसैलाई पनि पोलिट्ब्युरोमा जान बन्देज लगाउन नहुने अडानमा छ ।

शनिबारको बैठकमा पनि उक्त विषयमा विवाद भएको केन्द्रीय सदस्य हरि राईले बताए । शनिबारको बैठकले राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, बैठक सञ्चालन कार्यविधि र आचारसंहिता भने पारित गरेको छ ।
यस्तै एमालेले अर्को व्यवस्था नहुँदासम्मका लागि केन्द्रीय सदस्यहरूले यसअघि सम्हाल्दै आएको जिम्मेवारी सम्हाल्ने, भूगोलबाट निर्वाचितहरूले भूगोलको जिम्मेवारी लिने र बाँकी जिम्मेवारीका हकमा केन्द्रीय सचिवालयले संयोजन गर्ने निर्णय गरेको गैरेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us