काठमाण्डू, १२ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गत महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका ५ जनाले विपीन आचार्यलाई समर्थन जनाएका छन् ।
गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा विपीनलाई समर्थन जनाउँदै भोट मागेका हुन् ।
महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले पार्टी हितका लागि आफूहरूले मनोनयन फिर्ता लिएको बताए । बाँकी उम्मेदवारहरूबीच स्वस्थ प्रतिस्पर्धा हुने उनको भनाइ छ ।
अब महामन्त्रीमा विपीनसहित राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । उनीहरूलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको रास्वपा उच्च स्रोतले जानकारी दिएको छ ।