रास्वपा महाधिवेशनका कारण शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाण्डु टुडे २०८३ असार १२ गते १२:२७ मा प्रकाशित

काठमाण्डू, १२ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशन लम्बिँदा संसद् समेत प्रभावित भएको छ ।

संसद सचिवालयले लगातार दुई दिन बैठक स्थगित गरी सार्वजनिक बिदाको दिन शनिबार बैठक बोलाएको छ । यसअघि यही असार ११ गते बस्ने तय भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो । आज १२ गते बस्ने बोलाइएको बैठक फेरि स्थगित गरेर भोलि १३ गते शनिबारका लागि सारिएको छ ।

रास्वपा प्रतिनिधिसभामा दुई तिहाइ नजिकको दल हो । सरकारको नेतृत्व गरिरहेको यस दलका सांसदहरू महाधिवेशनमा व्यस्त रहँदा प्रतिनिधिसभा बैठक बस्न कठिन हुने भएकाले स्थगित गरिएको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस बैठक बस्न नसक्ने भएकाले स्थगित गर्नुपरेको सूचना निकालेका छन् । अर्को बैठक शनिवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us