काठमाण्डु, २ साउन– काँग्रेसका नेता डा. शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् ।
आज बुधबार काठमाण्डुको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन ।
नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको पनि उनले बताए । उनले महिलाहरूमा समाजलाई डोर्याउन सक्ने क्षमता हुने पनि बताएका छन । उनले महिलाहरूलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको जिकिर गरे ।
आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरूको साथ र सहयोगकै कारण जितेको उनको भनाई थियो । उनले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताएका छन ।
उनले भने, ‘४ पटक चुनाव जितेँ मैले आफ्नो क्षेत्रबाट, योगदान महिलाहरूकै थियो । महिलाहरूलाई उच्च सम्मान हामीले दिनुपर्छ । म आदरणीय शेरबहादुरजीलाई भन्छु ३३ प्रतिशत होइन, महिलाले ५० प्रतिशत पनि पाउनुपर्छ । तर तपाईँहरू सशक्त भूमिका निर्वाह गर्नुस् । घरमा बसेर चुलाचौका गर्ने होइन ।
नेतृत्व गर्न अगाडि बढ्नुस् । म चुनावमा जाँदा महिला अगाडि भयो भने ढोका खुल्छ, पुरुष भयो भने को आयो भनेर सोध्छ । ढोका खुलेपछि न कुरा गर्न सकिन्छ ।’