बेपत्ता यात्रु र बस खोज्न हात्ती सहितको टिम परिचालन

काठमाण्डु टुडे २०८१ साउन २ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, २ साउन– चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता दुई वटा डिलक्स बस र यात्रु खोज्न हात्ती सहितको टिम परिचालन गरीएको छ ।

नारायणी नदी किनारमा हात्ती सहितको टिम परिचालन गरेर खोजी भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका छन ।

हात्तीलाई परिचालन गरेर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नदी किनारमा खोजी भइरहेको पनि उनले जानकारी दिएका छन । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेज पुल, मध्यबिन्दु नगरपालिका–२ स्थित भुताहा र गैँडाकोट नगरपालिका लगायतका ठाउँमा १५ जनाको शव फेला परेको छ ।

अहिलेसम्म १८ जनाको शव भेटिएको र ७ जनाको सनाखत गर्ने प्रयास भइरहेको पोखरेलले जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी पोखरेलसहित नवलपरासी पूर्वका सुरक्षा प्रमुखहरू खोजमा निस्किएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us