काठमाण्डु, १ साउन– राष्ट्रिय जनमोर्चाले कांग्रेस र एमालेको समीकरण प्रतिगमनको खतराको संङ्केत भएको बताएको छ । साथै सो पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकार नेपालका लागि तत्कालीन र दीर्घकालीन दुवै दृष्टिले हानिकारक रहेको पनि दाबी गरेको छ ।
जनमोर्चाका .अध्यक्ष चित्रबहादुर केसीले मंगलबार प्रेस वक्तव्य जारी गर्दै नयाँ सत्ता समीकरण र सरकारबारे धारणा सार्वजनिक गर्दै ओली नेतृत्वको सरकारको कडा आलोचना गरेका छन ।
जनमोर्चाले सरकारले अपनाउने गलत नीति र कार्यहरूको सम्झौताहीन प्रकारले विरोध वा संघर्ष गर्ने प्रतिबद्धता पनि जनाएको छ । जनमोर्चाले भनेको छ, ‘केपी ओली आफ्नो अविश्वसनीय तथा अधिनायकवादी चरित्रका कारण नेपालको राजनीतिमा निकै बदनाम छन् ।
केपी ओलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त गर्ने, जनप्रतिनिधिमूलक संस्थाबाट आएको विरोधको सामना गरेर मार्ग प्रशस्त गर्ने भन्दा दुई–दुई पटक संसद् नै भङ्ग गरेर देशलाई प्रतिगमनतर्फ धकेल्ने कार्य गरेका थिए, ‘अहिले पनि केपी ओलीलाई त्यो गल्तीप्रति कुनै पश्चाताप नभएर त्यसको पक्षमा आफूलाई खडा गर्दै आइरहेका छन् ।
केपी ओलीमा संसद् चल्न नदिने, पार्टीभित्र उठेका विरोधका स्वरहरूलाई अधिनायकवादी ढङ्गबाट दबाउन खोज्ने प्रवृत्ति रहेको छ ।’
ओली प्रवृत्तिका कारण उनको नेतृत्वमा बनेको सरकारले मुलुकलाई अधिनायकवादको दिशामा अगाडि बढाउन सक्ने खतरा रहेको पनि सो पार्टीले जनाएको छ ।
‘कांग्रेस र एमालेबिच बनेको नयाँ राजनीतिक समीकरणले नेपालको राजनीतिलाई थप प्रतिगमनको दिशामा लिएर जाने खतरा देखा परेको छ’, जनमोर्चाले आठ बुँदे निर्णयमा भनिएको छ ।