एकैदिन नौ फरार अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १०:५१ मा प्रकाशित

कञ्चनपुर, ३१ साउन- कञ्चनपुरमा अदालतले सजाय सुनाएका नौ फरार अभियुक्त एकै दिन पक्राउ परेका छन् ।
फरार अभियुक्त खोजी गर्न सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय डोटीबाट खटिएको टोलीले उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागुऔषध कारोबारी, वन मुद्दा र जग्गासम्बन्धी मुद्दाका अभियुक्त छन् । उनीहरु सबै जिल्ला अदालत कञ्चनपुरबाट सजाय तोकिए पनि फरार थिए ।
लागुऔषध कारोबारमा एक वर्ष जेल र पाँच हजार जरिवाना तोकिएका तत्कालीन रामपुर गाविस–५ का ५३ वर्षीय ज्वाला राना पक्राउ परेका छन् । उनीविरुद्ध २०४३ सालमै पैसला भएको थियो ।

यस्तै २०५६ सालमा वन मुद्दामा अदालतबाट एक वर्ष कैद र ७३ हजार ९८५ जरिवाना तोकिएका तत्कालीन श्रीपुर गाविस–६ का तेजबहादुर बडायक, जग्गासम्बन्धी मुद्दामा २०६२ कात्तिक ७ गते अदालतले जनही २०० जरिवाना तोकिएका तत्कालीन श्रीपुर–३ का रामकिशोर राना, गणेश राना, रामकुमार राना, दशरथ राना, रत्ती राना, लालु राना र प्रकाश रानालाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु सबैलाई अदालतको जिम्मा लगाइएको कञ्चनपुर प्रहरी प्रमुख राजेन्द्र चौधरीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us