काठमाण्डु, ३१ असार– एमाले सचिव योगेश भट्टराई सञ्चारमन्त्रीको सपथ लिने अन्तिम तयारीमा थिए ।
नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले यसपटक मन्त्री बनाउने बचन दिएका थिए । भट्टराई आइतबार राति मात्र होइन, सोमबार बिहानसम्म मन्त्री बन्नेमा ढुक्क थिए । तर जब राष्ट्रपति कार्यालयमा मन्त्रीहरुको नाम बुझाइयो तब मात्र उनले आफू रिङ आउट भएको थाहा पाए । यस्तै अर्का सचिव छविलाल विकलाई पनि ओलीले मन्त्री बनाउने आश्वासन दिएका थिए ।
धेरै नेता कार्यकर्ताले लामो समयपछि अवसर पाउन लागेको भन्दै विकलाई बधाई समेत दिएका थिए । तर, अन्तिममा उनी पनि ओली मन्त्रिपरिषदमा अटाएनन् । मन्त्रीका लागि धेरैपटक चर्चामा आएको अर्को नाम हो जुलीकुमारी महतो । महतो सचिव रघुवीर महासेठ पत्नी हुन् ।
महासेठ प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । श्रीमान–श्रीमतीलाई नै आलोपालो मन्त्री बनाउन लागिएको भन्दै पार्टीभित्रै विरोध भएपछि अन्तिम समयमा आएर ओली पछि हटे । यसअघिको सरकारमा कानूनमन्त्री रहेका पदम गिरी यसपटक दोहोरिनेमा शतप्रतिशत विश्वस्त थिए । काँग्रेस–एमालेबीच सत्ता समीकरण बनिसक्दासम्म विष्णु पौडेलको ओली सरकारमा जाने करिबकरिब शून्य सम्भावना थियो । पौडेललाई ओलीले मन्त्री नबनाउन लागेको सुइँको पाएका गिरीले अर्थ मन्त्री ताकेका थिए ।
ओलीले अर्थमा आँखा नलगाउन र सरकारको प्रवक्तासहित सञ्चारमन्त्रीको तयारी गर्न भनेपछि उनी चुप थिए । तर, आइतबार बसेको सचिवालय बैठकमा गिरीको नाममा विवाद भयो । गिरीलाई एकपछि अर्को महत्वपूर्ण जिम्मेवारी दिइनुको कारणबारे ओलीसँग बैठकमा सोधियो । उनकै प्रदेश गण्डकीका नेता पृथ्बीसुब्बा गुरुङले प्रश्न गरे, ‘पहिला प्रमुख सचेतक, त्यसपछि कानूनमन्त्री अनि अहिले फेरि मन्त्री ?’, उनले ओलीसँग सोधेका थिए, ‘पदम गिरीमा तपाईंको सेवा गरेको भन्दा बाहेक के क्षमता देख्नुभएको छ र पटकपटक अवसरले उहाँलाई पछ्याइराख्छ ?’ ।
केन्द्रमा ओली समूहमै रहे पनि गण्डकी प्रदेशको राजनीतिमा गुरुङ र पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच अस्वस्थ प्रतिस्पर्धा छ । गिरी अधिकारीको खेमामा छन् । आफ्नो विरोधी खेमामा रहेका कारण गुरुङले गिरीप्रति भँडास पोखेका हुन् । अन्ततः चाहेर पनि ओलीले उनलाई मन्त्रीमा दोहो-याउन सकेनन् ।
ओली र विद्या भण्डारी भेटेपछि फेरियो मन्त्रीको सूची
ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ६ बजेतिर प्रधानमन्त्री नियुक्त गरेका थिए ।
त्यसलगत्तै ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न बुढानिलकण्ठ चपलीस्थित भण्डारी निवास पुगे । बालकोट श्रोतका अनुसार उनीहरुबीच कस–कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको थियो । भण्डारी र ओलीको सहमतिमा मन्त्री बन्ने नेताहरुको नाम हेरफेर गरियो । उनकै जोडबलमा ओलीले कमै रुचाएका पुथ्वसुब्बा मन्त्रीमा अटाए भने योगेश, विश्वकर्मा र गिरी आउट भए ।
एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थ, बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी, दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति, देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राई, रक्षा र राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएका छन् ।
ती सबै नाम ओली र विद्याको सहमतिमा तय गरिएको एमाले श्रोतले जनाएको छ ।