काठमाण्डु, ३१ ३१ असार- निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवनियुक्त प्रधानमन्त्री केपी ओलीको सपथग्रहण समारोहमा सहभागी भएका छन् ।
प्रचण्ड सपथग्रहणमा सरिक हुन शीतलनिवास पुगेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई पद तथा गोपनियताको सपथ गराए ।
ओली आइतबार साँझ संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि शुक्रबार पदमुक्त भएपछि प्रचण्ड र ओलीको यो पहिलो भेट हो ।
१७ असारमा आफूलाई बालुवाटार भेट्न आएका ओलीले चार घण्टा लामो वार्तामा ‘स्वर्ग गए पनि, नर्क गए पनि सँगै जाने’ आश्वासन दिएर काँग्रेससँग गठबन्धन गरेको भन्दै प्रचण्ड आक्रोशित थिए । प्रचण्डले सपथपछि ओलीलाई कार्यकाल सफलताको शुभकामना दिए ।