चितवन, ३१ साउन– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संविधान जारी गर्नुअघि नै स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा
सरकार लागिपरेको बताएका छन् ।
चितवनको भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले आगामी माघ ८ अघि नै स्थानीय निकायको निर्वाचन हुने बताए । संसदले स्थानीय स्थानीय स्वायत्त शासन ऐन संशोधन गरिसकेकाले निर्वाचन प्रक्रियाका लागि बाटो खुलेको उनको भनाइ थियो ।
उनले संविधान जारी हुनुअघि स्थानीय निर्वाचन गराउनेमा दलीय सहमति जुट्ने दाबीसमेत गरे । ‘संविधान जारी गर्नुअघि नै स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा सरकार छ’, सिंहले भने, ‘सबै दलको सहमतिमा निर्वाचन हुन्छ ।’
सिंहले लामो समयदेखि जनप्रतिनिधिविहीन भएका कारण स्थानीय निकायमा भ्रष्टाचार बढेकाले निर्वाचनको विकल्प नरहेको प्रष्ट्याए । अर्को एक फरक प्रसंगमा उनले सबै काम कार्यतालिका अनुसार अघि बढेकाले तोकिएकै समयमा संविधान बन्ने दाबी गरे ।