काठमाण्डु, ३० असार– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी ठगी प्रकरणमा तत्काल छानबिन थाल्न आग्रह गरेका छन् ।
कामचलाउ सरकारका गृहमन्त्री लामिछानेले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पदमा रहेका कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न प्रहरीलाई आग्रहगरे ।
‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन् । यहाँहरू सबै साक्षी हुनुहुन्छ । मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु । न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु’, उनले भने, ‘तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस् ।’
गल्ती गर्ने कसैले पनि उन्मुक्ति पाउन नहुनेमा आफू स्पष्ट रहेको उनको भनाइ थियो ।