
प्रतिनिधिसभा बैठक – उपप्रधानमन्त्री लामिछाने
काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
काठमाण्डु, २८ असार– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भावी गृहमन्त्रीका रुपमा चर्चामा रहेका काँग्रेस प्रमुख सचेतक रमेश लेखकलाई आफूले थालेका भ्रष्टाचारविरोधी अभियान नरोक्न आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन उभिएका लामिछानेले सरकारले चालेको भ्रष्टाचारविरोधी कदमका कारण काँग्रेस–एमाले मिलेको बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा र एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेपछि रातारात सरकार ढाल्ने सहमति भएको बताएका उनले व्यक्तिका नाममा हडपिएको बाँसबारी, बालमन्दिर, र जनकपुरको जग्गा फिर्ता ल्याइएको र पतञ्जलीको जग्गा फिर्ताका लागि अनुसन्धान अघि बढाइएको बताए ।
लेखकले आफूलाई ती काम गर्दा स्टण्टको संज्ञा दिएको स्मरण गर्दै त्यस्तै स्टण्टको आशा आफूले राखेको उल्लेख गरे । आफू आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा सहकारी ठग भनेर चिनिएको भन्दै लामिछानेले प्रमाणै प्रमाण बजारभरि भएको केसमा लेखकले के गर्छन् भन्ने हेर्ने बताए । ‘हल्ला सुनिएअनुसार माननीय रमेश लेखक सम्भावित गृहमन्त्री हुनुहुन्छ रे । तपाईंले मलाई स्टन्ट गर्नुभयो भन्नुभयो । बाँसबारीको जग्गा, बालमन्दीरको जग्गा फिर्ता ल्याइएको छ, जनकपुरको जग्गाको अनुसन्धान सुरु भएको छ । पतञ्जलीको जग्गाको काम भएको छ । यसलाई अघि बढाउनुहोला, म तपाईंबाट यस्तो स्टन्टको अपेक्षा तपाईंबाट गर्छु’, उनले भने ।