
प्रतिनिधिसभा बैठक – उपप्रधानमन्त्री लामिछाने
काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
काठमाण्डु, २८ असार– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा र एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेपछि रातारात सरकार ढाल्ने सहमति भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन उभिएका लामिछानेले सरकारले चालेको भ्रष्टाचारविरोधी कदमका कारण काँग्रेस–एमाले मिलेको बताए । आफूहरु चेकलिस्टसहित सरकारमा आएको तर, कसैले त्यसलाई फेकलिस्ट भनेको गुनासो गरे ।
लामिछानले आफूमाथि फाइल किन नखोलेको भन्ने प्रश्न गर्ने गरिएको भन्दै फाइल खोलिएको २४ घण्टामै सरकार ढालिएको टिप्पणी गरे । ‘यही सदनमा उभिएर एकजना माननीयले भन्नुभएको थियो खोइ फाइल खोलेको रु फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने ?’, लामिछानेले भने, ‘सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर ढाँट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो । बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढलेको कुनै कारण जनतालाई थाहा छैन ।’
लामिछानेले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डको विगत र भविष्यबारे उनैले सोच्नु भए पनि सुशासन र भ्रष्टाचारविरोधी कदममा साथ दिएको भन्दै प्रशंसा गरे । ‘उहाँको राजनीतिक इतिहासमा प्रश्नहरु छन् । उहाँको भविष्य उहाँले चिन्ता गर्ने हो’, लामिछानेले भने, ‘तर वर्तमानमा आफ्नो राजनीतिक र सुशासनको प्रतिबद्धता कायम रहनुभएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु ।’
लामिछानेले आफूहरु आफूहरू सन्तुष्ट नभए पनि चार महिनामा जनताको पक्षमा इमान्दारीपूर्वक काम गरेको दाबी गरे । लामिछानेले आफूले मन्त्रीका रुपमा रहँदा कतै पनि उदघाटनमा नगएको तर, नेपालगञ्जमा कारागार उदघाटन गरेको स्मरण गरे । आफूलाई सहकारी ठग प्रमाणित गरिए जेल जाने नभए भ्रष्टहरुलाई जेलमा हाल्ने चेतावनी उनले दिए ।