काठमाण्डु, २८ असार– एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले अब संसदको रोष्ट्रममा प्रधानमन्त्रीका हैसियतमा बोल्न नपाउने दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतमाथि धारणा राख्दै उनले अब बोल्न नपाइने ढंगले प्रधानमन्त्री प्रस्तुत भएको टिप्पणी गरे । प्रधानमन्त्रीले सत्ता गुमेकामा संसदमा आक्रोश पोखेको उनको भनाइ थियो ।
‘उहाँको भाषण सुन्दा सायद प्रधानमन्त्रीको हैसियतले संसदको रोष्ट्रममा भाषण गर्ने दिन फर्किँदैन कि भन्ने ढंगले प्रस्तुत हुनुभयो’, उनले भने, ‘ त्यसैले होला थुप्रै आक्रोश पोख्नुभयो । गलत सूचना दिनुभयो । सम्भवतः यहाँ बोलेका प्रश्नहरुको जवाफदेहिता आज मात्रै सीमित हुँदैन । उहाँ बाचुञ्जेलसम्म दिनुपर्छ भन्ने बुझेर बोलेको भए हुन्थ्यो ।’ भट्टराईले देशलाई राजनीतिक स्थायित्व दिन एमाले–कांग्रेस मिलेको बताए ।