प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान प्रचण्डको प्रस्ताव

काठमाण्डु टुडे २०८१ असार २८ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न चेतावनी दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उनले समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख बताए । उनले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्पसंख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरे ।

‘साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ? त्यो तरिकाले पाउँछ जनताको स्वीकार्यता ? राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन ?’ ।

काँग्रेस र एमालेले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोजेको बताए । सहमतिमा षड्यन्त्रको गन्ध आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थिरताको कारण देखाएर समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोजिएको आशंका गरे । ‘संविधान संशोधन नै गर्ने हो भने आउनुस्, खुला छलफल गरौं । प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व अझै बढाएर जाउँ । उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई अझ सुरक्षित गरौैं’, प्रचण्डले भने, ‘विपन्न वर्गको राज्यसंरचनामा प्रतिनिधित्व बढाऔं । महिला, उत्पीडित वर्ग, जाति र क्षेत्रको सम्मानजनक प्रतिनिधित्व यो संविधानको आत्मा हो । यसलाई खोसेर फेरी महिला, दलित आदिवासी जनजाति, मधेसी थारु र मुस्लिमलगायत धार्मिक अल्पसंख्यकलाई पहिले जस्तै राज्यका निकायमा प्रतिनिधित्वविहिन बनाउने षड्यन्त्र किमार्थ सफल हुने छैन ।’

प्रधानमन्त्रीले थप अगाडि भने, ‘हिजो जसको प्रतिनिधित्व केवल प्रतीकात्मक र निरंकुश शासकहरूको दयामा निर्भर थियो, आज त्यो सुनिश्चित र अधिकारपूर्ण छ । हिजो महिला प्रतिनिधित्व राज्य र दलहरूको विमर्शको विषयसम्म थिएन, आज केन्द्र र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व संविधानबाटै सुनिश्चित भएको छ ।’

‘महिला, दलित, आदिवासी जनजाति माननीयज्यूहरू, सङ्ख्या पुगोस नपुगोस्, इतिहासमा तपाईंहरूको भूमिका दर्ज होस् भनेर पनि मैले विश्वासको मतको अधिकारको प्रयोग गरेर प्रतिगमनविरूद्ध प्रतिरोध सुरू गरेको हुँ,” प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो । साथ दिने नदिने तपाईहरूको विवेकको विषय भयो तर मलाई जनताप्रति भरोसा छ, जनताको साथ प्राप्त हुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us