काठमाण्डु, २७ असार– प्रधानमन्त्री एवं ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको प्रथम स्मृति दिवस बिहीबार मनाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रचण्डसहित छोरीहरु रेणु र गंगा तथा परिवारका सदस्य तथा पार्टी नेता कार्यकर्ता र उच्चपदस्थ सरकारी अधिकारीहरुले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरे ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भूसालसहति पार्टी पदाधिकारी र नेता, कार्यकर्ता सहभागी थिए ।
दाहालको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे। परिवर्तनका योद्धाका रूपमा सीता दाहाल सँधै स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे ।
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेकी दाहालको गत वर्ष आजकै दिन निधन भएको थियो ।