काठमाण्डु, ३१ साउन– प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ को शनिबार पोष्टमार्टम भएको छ ।
परिवारको सहमतिमा मृत्यु भएको १० दिनपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम भएको हो ।
पोष्टमार्टमको रिपोर्ट सोमबार आउने बताइएको छ । सुनियोजित हत्या भएकाले शव नबुझ्ने परिवारको अडानका कारण उनको शव अझै शिक्षण अस्पतालमै छ । चरीका दाजु ध्रुव अधिकारीले शव नबुझ्ने सर्तमा पोष्टमार्टमा गर्न आफूहरु राजी भएको बताए ।
उनका अुनसार अदालतकी कारबाहीका लागि मृत्यु भएको आधिकारिक कागजात आवश्यक पर्ने भएकाले पोष्टमार्टम गरिएको हो ।
हत्यामा संलग्न रहेकाले कारबाहीको माग गर्दै चरीका परिवारले शुक्रबार चार प्रहरी अधिकारीसहित पाँचजनाविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थियो ।
यसअघि चरीका परिवारले राज्य संयन्त्रको मिलेमतोमा हत्या भएकाले नेपालमा गरिने पोष्टमार्टमप्रति आफूहरुलाई विश्वास नलागेको भन्दै जापान वा अमेरिका लैजान पाउनुपर्ने बताएको थियो । ‘मुद्धाको किनारा नलागेसम्म हामी शव बुझ्दैनौं’, अधिकारीले काठमाण्डु टुडेसँग भने, ‘शव नबुझ्ने सर्तमा पोष्टमार्टम गर्न लागेका हौं ।’
प्रहरीको फरार सूचीमा रहेका चरीको गत बुधबार धादिङको सीमानामा पर्ने काठमाण्डुको गोलढुंगामा मृत्यु भएको थियो । परिवारले दोहोरो भिडन्तमा नभई पक्राउ गरेर मारिएको आरोप लगाउँदै आएको छ ।