पूर्वपश्चिम राजमार्ग खुल्न एक साता लाग्ने

काठमाण्डु टुडे २०७१ साउन ३१ गते ३:५३ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– पूर्वपश्चिम राजमार्गको धनुषास्थित रातु पुल भासिएर अवरुद्ध भएको यातायात खुलाउन भरपर्दो पहलका लागि स्थानीय राजनीतिक दल तथा सामाजिक संघसंस्थाले माग गरेका छन् ।
शुक्रबार बर्दियामा बैठक गरी प्रमुख राजनीतिक दलहरु तथा सामाजिक संस्थाका प्रतिनिधिले पुल भासिनुको मुख्य कारण देखिएको क्रसर व्यवसायीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

‘राजमार्गजस्तो बहुसंख्यक जनताको सरोकार राख्ने पुललाई नै जोखिममा पार्ने गरी ढुंगा गिटी उत्खनन् गर्ने क्रसर व्यवसायीलाई कानून बमोजिम कारबाहीको जोडदार माग गर्छौं,’ उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राजमार्गको पुल भासिएर आवागमन रोकिएपछि पुर्वी नेपालका जनतालाई राजधानीसँग जोड्ने एकमात्र सठडकमार्ग अवरुद्ध भएको छ । यसबाट सर्वसाधारणले खेप्नुपरेको समस्याबाट छुटकारा दिलाउन तत्काल वैकल्पिक मार्ग खुलाउन पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।

रातु नदी पुल भासिएर अवरुद्ध गरिएको यातायात खुलाउन कम्तीमा एक हप्ता लाग्ने सडक डिभिजन कार्यालय जनकपुरले जनाएको छ ।

नदीमा बाढी हुँदा पुल धस्ने क्रम जारी रहेको बताउँदै कार्यालयका प्राविधिक परमेश्वर यादवले भने, ‘सुरुमा ३६ सेन्टिमिटर धसिएको पुल बिहीबार दिउँसो १२ बजेसम्म ३८ सेन्टिमिटर, अपरान्ह ६ बजेसम्म ३९।५ सेन्टिमिटर र शुक्रबार दिउँसोसम्म ४० सेन्टिमिटर तल धसिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us