धनगढी, ३० साउन – निरन्तरको वर्षासँगै कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीमा पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेको छ ।
पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेपछि प्रहरीले नदी आसपासका बासिन्दालाई ‘माइकिङ’ गरी सुरक्षित स्थानमा जान सूचना गरेको छ ।
कर्णाली नदीमा शुक्रबार मध्याह्नसम्म पानीको सतह १५ दशमलव २ मिटर पुगेको छ । उक्त नदीमा पानीको खतराको स्तर १० दशमलव ८ मिटर रहेको स्थानीय जल तथा मौसम विज्ञान विभागको कार्यालयले जनाएको छ।
कर्णालीको बाढीले कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको तटबन्ध भत्काएको कर्णाली, चिसापानीमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनराज जोशीले जानकारी दिए । नदीमा उर्लिएर आएको बाढीमा गाई, बाख्रा, भैँसी बग्दै गरेको दृश्य देखिएकाले नदीको बाढीले पहाडी क्षेत्रमा क्षति पु¥याएको हुन सक्ने जोशीले बताए ।
कर्णाली नदीबाट कैलाली जिल्लातर्फ आएका खोलाहरुमा बाढी पसेपछि जिल्लाका थापापुर, मुनुवा, दुर्गौली, धनसिंपुर, नारायणपुर गाविस र टीकापुर नगर क्षेत्रका अधिकांश भाग डुबानमा परेका छन् ।
डुबान प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई परिचालन गरिएको छ ।