काठमाण्डु, ३० साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति प्रक्रियाको सराहना गर्दै विश्वले पाठ सिक्नुपर्ने बताएका छन् ।
बुलेट छोडेर ब्यालेटमा विश्वास गरी नयाँ संविधान बनाउने बाटोमा लागेको नेपालबाट द्धन्द्धलाई सहज ढङगबाट रुपान्तरण गर्न ज्ञान लिन विश्वलाई आग्रह गरेका छन् ।
भारतको ६८ औं स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नयाँ दिल्लीको लाल किल्लाबाट सम्बोधन गर्दै नेपालको चर्चा गरेका हुन् । ‘आन्तरिक द्वन्द्वलाई सहजै सुल्झाउन सकिने मामलामा नेपालबाट विश्व समुदायले सिक्न सक्ने’ भन्दै मोदीले नेपालको शान्ति प्रकृयाको खुलेर सराहना गरेका छन् ।
विशिष्ट समारोहमाझ प्रधानमन्त्री मोदीले दिएको अलिखित भाषणामा ‘बुद्धभूमी नेपाल’को सम्बोधनसँगै युद्धबाट बुद्ध र शस्त्रबाट शास्त्रमा रुपान्तरित राजनीतिक दलको सन्दर्भ उल्लेख गरेका थिए ।
‘भगवान बुद्धको भूमी नेपालले आन्तरिक द्वन्द्वलाई सुल्झाउनमा पाएको सफलतालाई भारतले पनि सिक्न सक्नुपर्छ,’मोदीले आफ्नो सम्बोधनमा भने ।
प्रधानमन्त्री मोदीको सम्बोधनपछि समारोहमा उपस्थित कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाललाई ‘नेपालको शान्ति प्रकृयाको सफलता सन्देशप्रति’ विभिन्न कुटनीतिक नियोगका प्रमुखहरुले बधाई ज्ञापन गरेका थिए ।