फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार ८ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, ८ असार– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवाताल चिसापानीमा पौडी खेल्ने क्रममा कास्की अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भएका अन्दाजी २१ वर्षीय सञ्जय भण्डारीको डुबेर मृत्यु भएको कालिका गणका गणपति एसपी अरूणकुमार शर्माले जानकारी दिएका छन ।

शुक्रबार दिउँसो भण्डारीसहित ५ जना पौडी खेल्न गएका थिए । भण्डारी पौडी खेल्ने क्रममा बेपत्ता भएको खबर फेवाताल रेस्क्यू टावर प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले खोजीकार्य सुरू गरेको उनले जानकारी दिएका छन ।

गोताखोर टोलीले अचेत अवस्थामा भेटाएको उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। अस्पतालले साढे ५ बजेतिर मृत्यु घोषित गरिदिएको एसपी शर्माले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us