काठमाण्डु, ८ असार– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङ्गिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको दाबी गरेका छन ।
आज (शनिबार) काठमाण्डुमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधर पुस्तक विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन । उनले शान्ति प्रक्रिया नटुङ्गिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढिराखेको पनि बताएका छन ।
उनले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढ्नुपर्नेछ ।’ उनले स्वर्गीय पद्यमरत्न तुलाधर एक वहुआयामिक व्यक्तित्व रहेको स्मरण गरे ।
तुलाधारले उत्पीडित भाषा र सांस्कृतिक पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरङ्कुशताका विरुद्ध पनि सङ्घर्ष झेलेको पनि बताएका छन । उनले भने, ‘पद्यमरत्न तुलाधर दाईसँग अत्यन्तै भावनात्मक सम्बन्ध रहेको थियो ।
उहाँ भाषा, सांस्कृतिक आन्दोलनको नायक हुनुहुन्थ्यो । उहाँले उत्पीडित भाषा र सांस्कृतिक पक्षमा आन्दोलनको नेतृत्व त गर्नु नै भयो ।
तर त्यो आन्दोलन खाली भाषा र संस्कृतिको आन्दोलन मात्र थिएन । उहाँले त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवादविरुद्ध राजनीतिक निरङ्कुशताका विरुद्ध पनि सङ्घर्ष झेल्नु भएको थियो ।’