खलंगा, ३० साउन– अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर रुकुममा तीन र सल्यानमा एकजनाको ज्यान गएको छ ।
रुकुमको चुनवाङ–८ सिन्चौरका नन्दराम घर्तीको घर पहिरोले पुरिँदा उनका छोरा ७ वर्षीय विजय र छोरी १० वर्षीया विमलाको ज्यान गएको हो ।
पहिरोमा परी १४ वर्षीया पुर्णीमा घर्ती र रुकुमकोटबाट पाहुना आएकी ६ वर्षीया कमला मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका नायव उपरीक्षक गौतमराज कट्टेलले जानकारी दिए । घाइते दुवैको गैरीगाउँमा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
उता रुकुमकै स्यालापाखा–१ बतासेडाँडामा पहिरोले हिरालाल बस्यालको घर पुरिँदा उनकी छोरी १० वर्षीया कल्पनाको ज्यान गएको छ ।
राति करिब १२ वजेतिर आएको पहिरोले घर पुरेपछि बालिकाको ज्यान गएको कट्टेलले वताए । पहिरोमा मृतकका ५ वर्षीय भाई प्रकाश बस्याल घाइते भएका छन् । उनको स्वास्थ्य चौकी धपेमा उपचार भइरहेको छ ।
यस्तै सल्यानको कालिमाटी काल्चेमा पहिरोमा पुरिँदा ७ वर्षीया विन्दु सिंजालीको ज्यान गएको छ । गएराति घर नजिकै आएको पहिरो हेर्न जाँदा पुरिएर बेपत्ता भएकी उनको आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।