काठमाण्डु, ७ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको दाबी गरेका छन ।
आज (शुक्रबार) विश्व योग दिवस २०२४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरेका हुन ।
योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने पनि बताएका छन ।
उनले भने, ‘शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो, ‘नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भइ कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।’
उनले तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट व्यक्तिमा नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने पनि बताएका छन ।