गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाण्डु टुडे २०८१ असार ४ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, ४ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको छ ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो । रविको तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको थियो । यससँगै मुद्दा सुनुवाइ नै नभई स्थगित भएको छ ।

रिटमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग गरिएको छ । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट ’ देखिने गरी पत्र दिएको थियो। उक्त पत्रमा लामिछानेका विरुद्ध कुनै पनि अदालतमा अभियोग नभएको र अनुसन्धान पनि नभएको भनिएको थियो ।

उक्त पत्र संसद् देखि राजनीतिक दलको बैठकमा गृहमन्त्री लामिछानेले पेस गर्दै आफू कुनै पनि ठगीमा संलग्न नभएको जिकिर गरेपछि पत्र विवादमा परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us