सिन्धुपाल्चोक, ३० साउन –झमझमदिर्करहेकोपानी। मडारिँदै झरिरहेका आसपासका खहरे। उर्लदो सुनकोसी भेल। निस्पट्ट कुहिरो । बम,एक्स्काभेटर र ड्रिल मेसिनसहित सुनकोसी बगरमा तैनाथ सैन्य टोली कति आत्तिएको छैन । ‘बेला यही हो ठोक भाइहरु’कमान्डर संयमित हुँदै निर्देशन दिन्छन् । निर्देशन पछ्याउँदै एक्स्काभेटर पानीको मुस्लोभित्र छिर्छ । विस्फोटको आवाज गुन्जन्छ–डयाङ…..ड्याङ…….ड्याङ ।
लगातार वर्षाको पर्वाह नगरी विस्फोट र एक्स्काभेटरबीच तारतम्य मिलाउँदै सुनकोसी तालबाट बिहिबार प्रतिसेकेन्ड ५ सय ३० क्युवेक पानी बगाउन नेपाली सेना सफल भएको छ ।
कान्ले पहिरोले सुनकोसी थुनेको १३औं दिन तालको पानी निकाल्ने क्रममा सेनाले प्राप्त गरेको यो अहिलेसम्मकै ठुलो उपलब्धी हो । ‘व्लास्ट र एक्स्काभेटरको एकदम राम्रो कम्बिनेसन मिल्यो,’चट्टाने बाँध फुटाएर अहोरात्र बहाब बढाउन खटिएका जर्नेल अस्मिनकुमार थापाले भने । साँझदेखि भित्रिरहेको मात्राभन्दा प्रतिसकेन्ड २ सय क्युवेक पानी बाँधबाट बहन थालेको उनले बताए ।
थापाका अनुसार माथिबाट बहेर प्रतिसेकेन्ड ३ सय ३० क्युबेक पानी आइरहेकोछ । ६०जनाको टोली तीन क्याम्प खडा गरेर दुई सातादेखि बाँध फुटाउन खटिइरहेको छ ।
नागरिक दैनिकबाट