सांस्कृतिक पहिचानले राष्ट्रिय एकतालाई बलियो बनाउँछ: माधव नेपाल

काठमाण्डु टुडे २०८१ असार ३ गते १३:०१ मा प्रकाशित

काठमाण्डु, ३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने बताएका छन ।

आज (सोमबार) इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै जाति समुदायका पर्व, संस्कृतिको जगेर्नाबाट एकापसमा सद्भाव तथा भ्रातृत्व कायम भइ सामाजिक एकता अभिवृद्धि हुने पनि बताएका छन ।

अध्यक्ष नेपालले शुभकामना सन्देशमा भनेका छन, ‘हाम्रा पहिचान निर्माणका लागि चाडपर्वको उल्लेखनीय भूमिका रहेकाले तिनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ, यिनै विविध विशेषताका कारण विश्वमा हाम्रो छुट्टै पहिचान बनेको छ ।’

उनले पारिवारिक मिलनको पर्व बकर इदका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीको शुख, शान्ति र प्रगतिको कामना गर्दै नेपाली समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीको अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन ।

अध्यक्ष नेपालले नेपाली समाजलाई एकताबद्ध गरी एकापसमा पारस्परिक सम्मान, सह अस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला र संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us