काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डु जिल्ला कमिटीको अध्यक्ष चयनमा सकेसम्म चुनाव नगर्न आग्रह गरेका छन ।
आज (शनिबार) जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले प्रतिस्पर्धा गर्ने हो भने कुनै पनि उम्मेदवारलाई नबोक्न नेताहरुलाई आग्रह गरेका छन् ।
उनले भने, ‘स्वस्थ प्रतिस्पर्धा नहुने, एक जनाले अर्को बोक्ने, अर्काले अर्को बोक्ने अनि नेताले प्रेस्टिज इस्यु बनाएर एउटालाई ढाल्नुपर्ने, अर्कोलाई उठाउनुपर्ने यो खालको कुराले पार्टीमा राम्रो गर्दैन, ‘त्यसकारण कृपया नेताहरु कोही बोक्नुभएको छ भने बालक कोही छैन, भुइँमा राख्नुस्, काँधमा बोक्नुपर्दैन ।’
नेताले आपसमा मिलाउनुपर्ने भन्दै उनले प्रतिस्पर्धा गर्ने हो भने कार्यकर्तालाई भोट हाल्न दिनुपर्ने बताए । ‘मिलाउनुहुन्छ भने नेताहरुले मिलाए हुन्छ, प्रतिस्पर्धा गर्ने हो भने भोट हाल्न कार्यकर्तालाई दिनुस् अरु कुरा नगर्नुस्’, उनले भने । पार्टीमा काममा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै उनले मतपेटिकामा मात्र प्रतिस्पर्धा गर्न उचित नहुने बताए ।
‘बाकसमा, ब्यालेटमा प्रतिस्पर्धा गरेर हुन्छ ? काममा प्रतिस्पर्धा, विचारमा प्रतिस्पर्धा, सक्रियतामा प्रतिस्पर्धा, शैलीमा प्रतिस्पर्धा, ती सबै कुरामा प्रतिस्पर्धा गर्नुपर्यो’, ओलीले भने, ‘कतिपय ठाउँमा प्रतिस्पर्धाका नाउँमा गलत प्रवृत्ति देखिएका छन् ।’पार्टीमा आफूले सोचेजसरी नयाँ नेतृत्व पैदा हुन नसकेको ओलीले बताएका छन ।
हरेक कमिटीबाट नयाँ नेतृत्व उम्रेर आइरहनुपर्ने भन्दै उनले कसलाई बनाउँ भनेर खोजी गर्दा राम्रो मान्छे पाउन मुश्किल भएको टिप्पणी गरेका छन ।
काठमाण्डु अध्यक्ष को हुनुपर्छ आफूले नभन्ने भन्दै ओलीले अध्यक्षको कुर्सीमा जो बसे पनि हुन्छ भन्ने पनि नसोच्न आग्रह गरेका छन ।
उनले थपे, ‘ ‘यो कुनै भावावेशको कुरा होइन, मैले धेरै केही भनिरहनुपर्लाजस्तो लाग्दैन । तपाईंहरुले एउटा मूल्यांकन गरिसक्नुभएको छ, एउटा अठोट गरिसक्नुभएको छ, कसले पार्टी चलाउन सक्छ, कसलाई नेतृत्व दिनुपर्छ तपाईहरुले बुझ्नुभएको छ । ’
जति जना प्रतिस्पर्धा गरे पनि एक जनाले जित्ने भन्दै ओलीले जितिन्न भन्ने थाहा पाउँदापाउँदै चुनावमा किन उठ्ने भनेर प्रश्न गरे । ‘चुनावमा उठेर, लडेर त्यहाँ फ्याक बनाएर मन चाहिँ मिलेको छैन हाम्रो भनेर, किन नमिलाउने मन केले रोकेकेको छ मन मिलाउन ?’ ओलीले प्रश्न गरे ।