संघीय समाजवादीका उपाध्यक्ष सुब्बा एमाले फर्कने

काठमाण्डु टुडे २०७१ साउन २८ गते १३:४२ मा प्रकाशित

काठमाण्डु, २८ साउन- वरिष्ठ उपाध्यक्ष विजय सुब्बासहित संघीय समाजवादी पार्टीका नेताहरु पूरानै घर एमाले फर्कने भएका छन् ।

bijaya subba
एमाले मुख्यालय बल्खुमा बिहीबार एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी भित्र्याउने कार्यक्रम छ । सुब्बाले संघीय समाजवादी पार्टीको मुल नेतृत्वले पार्टी स्थापना गर्दा लिइएका उद्देश्यअनुरुप काम गर्न नसकेकाले आफूहरु एमालेमै फर्कन लागेको बताए ।

‘जे उद्देश्यको निम्ति पार्टी बनायौं, मुख्य नेतृत्व उद्देश्य प्राप्तिमै लाग्न सकेन’, सुब्बाले भने, ‘त्यता बसेर असफल हुनुभन्दा पहिला दु:ख गरेको एमालेमै फर्कनु ठीकजस्तो लाग्यो ।’ आफूले पार्टी विस्तारका लागि देशव्यापी संगठन निर्माणको कार्ययोजनाका साथ प्रस्ताव पेश गर्दा पनि अध्यक्ष अशोक राईले चासो नदिएको आरोप उनको छ ।

आफूहरु विगतमा एमालेलाई पहिचानविरोधी भनेर निस्किए पनि एमालेले नवौं महाधिवेशनबाट पदाधिकारीमा समावेशीता लागू गरेकाले त्यो गलत सावित भएको उनको भनाइ थियो । संघीयताबारे फरक मत राख्नेहरु एमालेभित्र अहिले पनि रहेको भन्दै उनले फरक मत भए पार्टीभित्रै छलफल गर्ने जनाए ।
स्रोतका अनुसार सुब्बालाई एमालेले केन्द्रीय सदस्इ मनोनित गर्ने तयारी गरेको छ । उनी संघीय समाजवादी पार्टी गठन गर्नुअघि पनि केन्द्रीय सदस्य थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us