काठमाण्डु, २८ साउन– भावी संविधानका महत्वपूर्ण अन्तरवस्तुमा सहमति जुटाउने प्रयासमा मुख्य तीन दलबीच शीर्षतहमा छलफल सुरु भएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको पहलमा मंगलबार काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठक बसेको हो ।
सिंहदरबारमा बसेको बैठकमा संविधान निर्माणको कार्यतालिकाभित्रै रहेर छलफल तीव्र बनाउने सहमति भएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
उनले बैठकमा आफूहरुले संविधानसभाभित्र र बाहिर रहेका अन्य दललाई समेत सहमतिमा लिएर अघि बढ्नुपर्ने धारणा राखेको जानकारी दिए । बैठकमा संविधान निर्माणका विवादित विषयहरु राज्य पुनर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे छलफल भएको उनले बताए ।
श्रेष्ठले सबै विषयमा अन्तिम सहमति नजुटेसम्म आ–आफ्ना अडान राखे जसरी छलफलका विषय बाहिर नल्याउने सहमति दलहरुबीच भएको उल्लेख गरे । विगतमा छलफलका विषय बाहिर ल्याउन सहमति निर्माण जटिल भएकाले यसपटक त्यसो गर्न लागिएको उनको भनाइ थियो ।
‘हामीले सहमतिका आधारमा अगाडि बढ्नुपर्छ, त्यो सहमति पहिला तीन दलका बीचमा होस् त्यो पनि ठीकै छ’, श्रेष्ठले भने, ‘तर संविधानसभाबाहिर रहेका मोहन वैद्यजीले नेतृत्व गर्नुभएको माओवादीसहितका दलहरुलाई समेत सहमतिमा ल्याउने कुरालाई महत्व दिएर अघि बढ्नुपर्छ ।’
बैठकमा काँग्रेसबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौल, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल तथा एकीकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।