सक्कली प्रहरीको सम्मेलनमा नक्कली प्रहरी

काठमाण्डु टुडे २०७१ साउन २८ गते २:०९ मा प्रकाशित

काठमाण्डु, २८ साउन– प्रहरीसम्बन्धी अन्तर्राष्ट्रिय सक्कली सम्मेलनमा नक्कली प्रहरी सहभागी भएका छन् ।
प्रहरीको नक्कली कागजपत्र बनाएर सम्मेलनमा भाग लिएका गोरखाका किशोर थापा पक्राउ परेका छन् ।
नयाँबजारमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थापा आफूसहित ६ जनालाई प्रहरी अधिकारी बनाएर गत ९ जेठमा बेल्जियम लागेका थिए ।

प्रहरीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागीका नाममा थापाले बेल्जियममा मानव तस्करी गरेका हुन् । थापासँगै गएका अन्य ५ जना बेल्जियममै छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइवी० ले थापासहित राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी विपिनसिंह कुँबरलाई सोमबार पक्राउ गरेको छ । सिआइवी प्रवक्ता एसपी पीताम्बर अधिकारीका अनुसार ‘इन्टरनेशनल पुलिस एक्जुकेटिभ सिम्फोसिम’ नामक प्रहरीहरुको अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिने नाममा थापासहित ६ जना बेल्जियम गएका थिए ।

थापा टिम लिडर बनेर गएका थिए । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी तालिम प्रतिष्ठानको नक्कली पत्रमा तालिमका लागि मनोनयन गरिएको उल्लेख गरेर थापाले दूतावासमा आवेदन दिएका थिए ।

नेपाल प्रहरीले नै सो आवेदन दिएको भन्दै दूतावासले भिषा दिएको थियो । खासमा सबै नक्कली कागजपत्रका आधारमा नक्कली प्रहरीहरु बेल्जियम पुगेका थिए ।

नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us