कम बोल्ने र काम बढी गर्न खोजिरहेको छु: सभापति देउवा

काठमाण्डु टुडे २०८० मंसिर १६ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले कम बोल्ने, काम बढी गर्न खोजेको बताएका छन । आज शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘कम बोल्ने काम बढी गर्न खोजिरहेको छु हेरौं के हुन्छ ?’ देउवाले पार्टीका नेता कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा पार्टी बलियो हुने बताएका छन । विमान छुट्न लागेको भन्दै उक्त कार्यक्रममा देउवाले केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भन्दा पहिले बोल्न समय मागेका थिए ।

उनले आफू भाषण गर्ने मान्छे नै नभएको बताएका छन । कार्यक्रममा देउवा भन्दा पहिले बोलेका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सभापति देउवाको यो अन्तिम कार्यकाल भएकाले अब जोशिला युवाहरुलाई साथ दिनुपर्ने बताएका छन ।

मञ्चमा नै रहेका महामन्त्रीद्वय थापा र शर्मातर्फ संकेत गर्दै उनले देउवालाई भने, ‘शेरबहादुर दाइको यो अन्तिम अन्तिम पटक हो, अब बिदा लिने बेला भयो, उहाँले यो मुलुक बनाइदिनुपर्छ, वरिपरि कोही छन् भने छोडिदिनुपर्छ, जोशिला युवाहरुको साथमा लागेर यो मुलुक बनाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us