हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर १५ गते १७:२३ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा हात्तीले कुल्चेर वनमा कार्यरत चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–३ का ४० वर्षीय धनबहादुर वन रहेका छन ।

सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई आज बिहान ९ बजेतिर एक्लै भएको अवस्थामा जङ्गली हात्तीले लछारपछार पारी खुट्टाले कुल्चिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिएका छन ।

हात्तीको आक्रमणमा परी चौकीदार वनको घटनास्थलमै मृत्यु भएको रिजालले जानकारी दिएका छन । उनका अनुसार घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी भद्रपुर र प्रहरी चौकी जलथलको प्रहरी टोली घटनास्थल पुगेको छ । घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us