मधेसी नेतालाई सबक सिकाउन बोलेका थिए मोदीले नेपाली

काठमाण्डु टुडे २०७१ साउन २० गते ४:१८ मा प्रकाशित

काठमाण्डु, २० साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार व्यवस्थापिका–संसदलाई नेपाली भाषामा सम्बोधन गर्दा सबै चकित भए ।

modi
४८ मिनेट लामो भाषणका क्रममा उनले पहिलो तीन मिनेट नेपालीमा बोलेका थिए । धेरैले उनले ‘नेपालीहरुको भावना जित्न’ नेपालीमा भाषण दिएको ठाने ।

तर काठमाण्डु टुडेलाई प्राप्त जानकारीअनुसार मोदीले मधेस केन्द्रित दलका नेतालाई सबक सिकाउन मोदीले नेपालीमा बोलेका हुन् । अधिकांश मधेस केन्द्रित दलका नेताहरु संसद्, संविधानसभा वा सार्वजनिक मञ्चहरुमा बिरलै नेपाली बोल्छन् । व्यवहार हेर्दा यस्तो लाग्छ कि उनीहरुलाई नेपाली बोल्नमा लाज लाग्छ । तर मोदीले गर्वका साथ नेपाली बोले ।

‘मोदीले नेपालीमा भाषण गरिरहँदा हामीेल ताली बजायौं’, एक सभासदले भने, ‘तर मधेस केन्द्रित दलका सभासद लाजले मुण्टो निहुराएर बसेका थिए ।’ धार्मिक रुपमा कट्टर धारणा राख्ने मोदी आफ्नो भाषा र संस्कृतिलाई अगाध प्रेम गर्छन् । त्यसैले उनले सदनमा समेत सधैं हिन्दी बोल्ने मधेसी नेतालाई नेपालीमै बोल्न प्रेरण मिलोस् भन्ने हेतुले त्यसो गरेका हुन सक्छन् ।
सम्बोधनका क्रममा मोदीले एकपटक पनि मधेस शब्द उच्चारण गरेनन्, बरु हिमाल, पहाड र तराई जुट्ने संविधान बनाउन अपिल गरे । स्वदेश फर्कनुअघि हायत होटलमा मधेसी दलका नेतालाई सामूहिक रुपमा भेला पारेर मोदीले निर्देशनकै शैलीमा क्षेत्रीय राजनीति नगर्न भने । उनले मधेसका मात्र कुरा नगरी समग्र नेपालको कुरा गर्न आग्रह गरे । मोदीले चेतावनीकै भाषामा पहाडको विरोध गरेर मधेसको समस्या समाधान हुन्छ भन्ने नठान्न पनि मधेसी नेताको ध्यानाधर्षण गराए ।
मोदीको अनपेक्षित व्यवहारबाट मधेसी नेताले लज्जाबोधको अनुभूति गरेका छन् । मोदी भेटेर बाहिरिने क्रममा तमलोपा अध्यक्ष महन्थ ठाकुरले स्पष्ट शब्दमा आफूहरुको अपमान भएको बताए । आफूहरु एक्लाएक्लै भेटका लागि लायक भए पनि सामूहिक रुपमा भेटेको भन्दै ठाकुरले असन्तुष्टि जनाए ।

यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि उनीहरुलाई सामूहिक रुपमै भेटेकी हुन् । त्यतिबेला यस्तो असन्तुष्टि व्यक्त भएको थिएन । सामूहिक रुपमा भेटिएकोमा भन्दा मोदीले तराईको मात्र नभई समग्रह मुलुकको हितमा सोच्न आग्रह गरेपछि मधेस केन्द्रित दल झस्किएका हुन् । राजनीतिक शास्त्रका प्राध्यापक डा. सरेन्द्र केसी मधेसी नेताले नेपाली भाषा बिर्सेकाले मोदीले सम्झाई दिएको टिप्पणी गर्नछन् ।

हिन्दी नभई आफ्नै मौलिक भाषा अवधी, मैथली र थारु भाषामा बोल्न मधेसी नेतालाई मोदीले स्पष्ट सन्देश दिन खोजेको उनको भनाइ छ ।  ‘पहाडको विरोध गर्ने नाममा मधेसी दलहरुले नेपाली भाषा र धरातल बिर्सिएका थिए’, केसीले भने, ‘मोदीले तिमीहरुको भाषा हिन्दी होइन नेपाली हो भन्ने स्मरण गराउन खोजेका हुन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us