काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला र सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले देखाएको व्यवहारको नेपालको कुटनीतिक क्षेत्रले आलोचना गरेको छ ।

आइतबार मोदीलाई नेपाली सेनाले १९ तोपको सलामी दिँदा मोदीसँगै टाँसिएर उभिएको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो । नेपाल भ्रमण सकेर फर्कनुअघि सोमबार पनि सेनाले मोदीको सम्मानमा १९ तोपकै सलामी दियो ।
आइतबारको गल्तीबाट सिकेर प्रधानमन्त्री कोइराला सोमबार मोदीकै हारमा उभिने छैनन् भन्ने धेरैलाई लागेको थियो । तर कोइराला मोदीको छेउमा त्यसै गरी उभिए, जसरी आइतबार उभिएका थिए ।
परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले पाका प्रधानमन्त्रीबाट काँचो व्यवहार भएको टिप्पणी गरे । उनले कुटनीतिक मर्दायाअनुसार विशिष्ट विदेशी पाहुनालाई सम्मान गारद अर्पण गर्दा अन्य व्यक्ति सँगै उभिन नमिल्ने बताए ।
प्रधानमन्त्रीका सहयोगीहरुले ध्यान नदिँदा उक्त विषयले नेपालको अन्तर्राष्ट्रिय गरिमा घटाएको उनको भनाइ छ । ‘सम्मान ग्रहण गर्ने पाहुना मात्र उभिनुपर्नेमा हाम्रा प्रधानमन्त्री सँगै उभिएको देखियो’, श्रेष्ठले भने, ‘यो कुटनीतिक मर्यादाविपरीतको घटना हो ।’