जनतालाई राहत र उद्धारको आवश्यकता पर्दा सरकार मैदानबाट भागेको एमाले महासचिव पोखरेलको आरोप

काठमाण्डु टुडे २०८० मंसिर २ गते १५:११ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– एमालेका महासचिव शंकर पोखरेलले भूकम्प पीडित जनतालाई राहत र उद्धार गर्ने बेलामा सरकार मैदान छाडेर भागेको बताएका छन ।

आज (शनिबार) एमाले जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन । उनले सरकार मैदानबाट भागेपछि नेकपा एमालेले भूकम्प प्रभावित जनताको सेवाका लागि एक हजार स्वयंसेवक खटाएर सहयोग गरिरहेको पनि दाबी गरेका छन ।

उनले भने, ‘पश्चिम रुकुम र जाजरकोटमा गएको भूकम्पका कारण जनता चिसोले कठ्याङ्ग्रिएर मरिरहेका छन्, ‘सरकार सुरुका दिनमा हेलिकोप्टरमा सवार त देखियो । जतिबेला जनतालाई राहत र उद्धारको आवश्यकता छ त्यतिबेला सरकार मैदानबाट भागेको अवस्था छ ।’ उनल एमालेसँग जनताको स्वयंसेवामा प्रतिस्पर्धा गर्न चुनौती दिँदै उनले जनताको हरेक समस्याको समाधानमा एमाले रहने भन्दै पछिल्लो समय जनतामा फैलिएको निराशा चिन्ताको विषय भएको बताएका छन ।

उनले केही दिनअघि प्रधानमन्त्रीले राखेको बैठकमा जनतामा बढेको निराशाको कारण सरकार आफैले खोज्नुपर्ने अध्यक्ष ओलीले धारणा राखेको भन्दै सत्ता तर पनि जिम्मेवार बन्न नसकेको बताए । उनले अतिवादमार्फत नेपाली समाजलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको पनि बताएका छन ।

महासचिव पोखरेलले नयाँ र पुरा दलहरूको निशानामा एमालेलाई पारिएको भन्दै प्रतिपक्षमा रहेको एमालेमाथिको प्रहार किन भनेर प्रश्न गर्दै देशभक्त शक्तिमाथिको प्रहारका रूपमा बुझ्न जरुरी रहेको बताए । उनले राष्ट्रनिर्माणको अभियानका लागि मङ्सिर ७ वार्मपमात्रै भएको र त्यसपछि पनि बेथिति, कुशासन र सत्ताका गलत नीति र प्रतिगामी कदमहरु विरुद्ध निरन्तर जारी रहने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us