काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका छन् ।

मोदी भारतीय सेनाको विशेष विमानमार्फत अपराह्न ५ बजेर ३० मिनेटमा नयाँदिल्लीका लागि उडेका हुन् । मोदीको बिदाइमा नेपाली सेनाले १९ तोपको सलामी अर्पण गरेको थियो ।
उनलाई बिदाई गर्न प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतम, परारष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका अधिकारी विमानस्थल पुगेका थिए ।
नेपाली समकक्षी कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नेपाल आएका मोदीले यहाँ रहँदा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली, प्रमुख प्रतिपक्षी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष पशुपतिसम्शेर राणा, मधेस केन्द्रित दलका प्रमुख र उद्योगी व्यवसायीसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए ।
उनले आइतबार व्यवस्थापिका–संसदमा विशेष सम्बोधन गरेका थिए । त्यस क्रममा मोदीले नेपालमा भएको राजनीतिक परिवर्तन स्वीकार गर्दै भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने प्रष्ट्याएका थिए ।
उनले नेपालको विकास र संविधान निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । सोमबार बिहान मोदीले पशुपतिनाथको दर्शन र विशेष पूजाआजा गरेका थिए ।